विमान दुर्घटनामा ९४ जनाको मृत्यु
इरानको एउटा सैनिक यातायात विमान सी १३० तेहरान विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको छ।
इरानी सैनिक विमान १० तल्ले भवनमा बज्रिएको थियो उक्त विमानमा ८४ जना यात्रुहरू र चालक दलका १० जना सदस्यहरू भएको अधिकारीहरूले जनाएका छन्।
उनीहरू सबैको मृत्यु हुनुका साथै जमिनमा रहेका अरु धेरै घाइते भएका छन्।
सो विमान उडेको केहीछिनपछि नै चालकले विमानमा संकटकालिन स्थिति आएको बताएर विमान उतार्न विमानस्थलतर्फ फर्कने प्रयास गरेका थिए।
तर विमान नियन्त्रण बाहिर गएर दुर्घटना हुन गएको थियो।
अधिकारीहरूले भनेका छन् - उक्त विमान एउटा ठूलो आवादी भएको याफ्तावाद नामक आवासिय क्षेत्रको एउटा १० तल्ले भवनमा ठोक्किएको थियो।
दुर्घटना भएपछि ठूलो आगलागि भएको कारण उद्धारकार्यमा बाधा पुगेको बताइएको छ।
जमिनमा रहेका ९० जनालाई अस्पताल लगिएको छ।
सरकारी संकटकालीन चिकित्सा केन्द्रले तेहरानका सबै अस्पतालहरूलाई विरामीहरू लिन सावधान तुल्याएको थियो।
इरानमा हालका वर्षहरूमा धेरै विमान दुर्घटनाहरू भएका छन्।
इरानी अधिकारीहरूले त्यसो हुनाको कारण अमेरिकी नाकावन्दीले गर्दा जगेडा पार्टपूर्जाको अभाव हुनु हो भनेका छन्।
तेहरानमा वायु प्रदुषण उच्च रहनाको कारण वातावरण धुम्मिरहेको छ - तर त्यस स्थितिको सो दुर्घटनासँग कुनै सम्बन्ध भए नभएको कुरा भने प्रष्ट छैन।











