काठमाण्डौको प्रबेश द्वार थानकोटमा भीषण आक्रमण
गए राती थानकोटमा भएको भीषण आक्रमणमा ११ प्रहरीको मृत्यु भएको छ। राजधानी छिर्ने मुख्य नाकाको थानकोट चौकीमा सवारीसाधन चढेर आएका माओवादीले साझ ५:४० (नेपाली समय अनुसार) तिर आक्रमण गर्दा घटनास्थलमै प्रहरी निरीक्षकसहित ११ प्रहरी मारिएका थिए। सडकपारि रहेको सेन्ट्री बिटमा रहेका सुरक्षाकर्मीलाई गोली प्रहार गरेर ढालेपछि माओवादी भित्र प्रवेश गरेर बिना कुनै अवरोध तुरुन्तै चौकी कब्जामा लिएका थिए । प्रत्यक्षदर्शीहरूका अनुसार ४५-५० को संख्यामा आएका माओवादीले प्रहरी निरीक्षक महेश रावलको हत्या गरेपछि प्रहरीको मनोबल खस्किएका कारण जबाफी फायर गर्नसमेत सकेनन् । यति बढी संख्यामा काठमाडौंमा एकसाथ प्रहरी मारिएको यो सबैभन्दा ठूलो घटना हो । माओवादीले ढाडमा टेकेर टाउकोमा प्रहार गर्ने नीति केन्द्रीय समितिले पारित गरेपछि शनिबार पहिलो पटक एकै समयमा उपत्यकाका आधा दर्जन चौकी र सरकारी कार्यालयमा आक्रमण भएको थियो। लगातार चारैतिर आक्रमण भएपछि सुरक्षाफौजसमेत कता जाने भनेर अलमलमा परेको थियो। थानकोटमा आक्रमण भएपछि कलंकीदेखि नागढुंगासम्म सवारी आवागमन रोकिएको थियो। नागढुंगामा सेनाको गण, बलम्बुमा सशस्त्र प्रहरी बलको उपत्यका बाहिनी, चौकीभन्दा ठीक माथि ठाडापानीमा सेनाको गुल्म भए पनि सुरक्षाकर्मी आक्रमण रोकिएको १०-१५ मिनेटपछि मात्रै आइपुगेका थिए। घटनासंगै सो क्षेत्र आतंकित भएको थियो। सञ्चारकर्मी घटनाको आधा घण्टापछि घटनास्थल पुग्दा स्थानीयबासी ढोका थुनेर बसेका थिए। अधिकांश घरमा बत्ती निभाइएको थियो। माओवादीबाट बचेका स्थानीय बासिन्दा पुनर्जीवन पाएझैं हषिर्त देखिन्थे भने पछि सर्म्पर्कमा आएका प्रहरीले पनि जीवन बचेकोमा आफूलाई धन्य ठानेका थिए।
आक्रमण पछिको थानकोट
थानकोटमा मारिने प्रहरी को विवरण निम्न बमाजीम रहेको छ :
प्रहरी निरीक्षक -
महेश रावल
प्रहरी नायव निरीक्षक -
प्रकाश केसी
रत्न सुवेदी
प्रहरी सहायक निरीक्षक
यादव केसी
प्रहरी जवान
रामहरि दाहाल
मिठुराज कार्की
सूर्य मान तामाङ
डिकेन्द्र कुँवर
रविन कार्की
बाबुराम अधिकारी
ट्राफिक प्रहरी
दीपेन्द्र निरौला
दधिकोटमा मारिने
प्रनानि हरि शर्मा वाग्ले











