नेपालका क्रिकेट खेलाडीहरूले एसिसी कप -१९ वर्ष मुनिको क्रिकेट प्रतियोगिता) मा सफलता पाएलगत्तै नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को विकास बैठक बस्यो । नेपालले एसियाली क्षेत्रको क्रिकेटमा पाउँदै आएको सफलता र भविष्यमा पाउन सक्ने सफलताको सम्भाव्यता देखेर उक्त परिषद्को दुईदिने बैठक काठमाडौंमा बसेको थियो ।
अपि|mका, अमेरिका, युरोप, पूर्वी एसिया, विश्व महिला क्रिकेट प्रमुख आदि प्रतिनिधिहरूले सहभागिता गरेको उक्त बैठकमा नेपाल क्रिकेट संघका अध्यक्ष जयकुमारनाथ शाहले नेपालमा क्रिकेटको विकासका सम्बन्धमा कार्ययोजना प्रस्तुत गरे । उक्त बैठकमा नेपालले भोगिरहेको समस्या, चुनौती, नेपालमा क्रिकेट खेलको विकासका लागि भएका प्रयास, भौतिक पूर्वाधारहरूको अवस्था र विकास-निर्माणका योजनाहरूसम्बन्धी जानकारी गराइएको थियो । सो अवसरमा हालै सम्पन्न १९ वर्षमुनिको एसिसी कप प्रतियोगिताको फाइनलका भिडियो क्लिपिङहरू पनि देखाइएको थियो । आइसिसीका अध्यक्ष एहसान मणि तथा प्रमुख कार्यकारी मेल्कम स्पिडले सहभागिता गरेको उक्त बैठकमा नेपालले प्रस्तुत गरेको क्रिकेटको विकास अवधारणामा सहभागी प्रतिनिधिहरूले रुचिपूर्वक प्रश्नहरू राखेका थिए । उक्त बैठकमा नेपालले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण गर्न सहयोगको अपिलसमेत गरेको थियो ।
पाँच महादेशका क्रिकेट विकास अधिकारीहरूले सहभागिता गरेको उक्त बैठकको अन्तिम दिन आइसिसीका अध्यक्ष मणिले नेपालले चार वर्षअघि पाएको सेन्ट्रल एकेडेमीका लागि आइसिसीमार्फत थप आर्थिक सहयोग दिने पनि बताउनुभयो । उक्त अवसरमा मेल्कमले नेपालका युवा खेलाडीहरूले एसियाली स्तरमा पाएको सफलतालाई मध्यनजर गर्दै नेपाल चाँडै नै एक दिवसीय क्रिकेट प्रतियोगिता खेल्न योग्य राष्ट्रका रूपमा देखा पर्ने कुरा बताउनुभयो ।