गाजा-इजिप्ट सीमाबाट आवत-जावत शुरू
पहिलो पटक प्यालेष्टिनी नियन्त्रण अन्तरगत खुला गरिएको उक्त नाकाबाट स्थानिय समय अनुसार दिनको ठिक १२ बजे एउटा बस रफाहस्थित बसपार्कबाट इजिप्टतर्फ प्रस्थान गरेको थियो।
सबभन्दा पहिला एउटा ह्विल चेयरमा सवार एकजना बृद्ध महिलालाई उनको राहदानीमा छाप लगाएर इजिप्टतर्फ जाने अनुमति दिइएको थियो।
प्यालेष्टिनीहरूले अन्तराष्ट्रिय सीमानाको व्यवस्थापन गरेको यो पहिलो पटक हो।
गाजामा सामुद्रिक नाका छैन र इजरायलले गाजास्थित अन्तराष्ट्रिय विमानस्थललाई संचालन गर्न अनुमति नदिएकाले रफाह नाका नै गाजाको वाहिरी विश्वसित सम्पर्क गर्ने एकमात्र मार्ग बन्न पुगेको छ।
झण्डै ४० बर्षसम्म उक्त प्यालेष्टिनी सीमानामा नियन्त्रण गर्दै आएको इजरायलले अमेरिकी दवाबपछि सो नियन्त्रण उनीहरूलाई हस्तान्तरण गर्न सहमति जनाएको थियो।
तर उसले नजिकैको आफ्नो भू- भागबाट भिडियो लिङ्क मार्फत सीमा वारपार गर्ने मानिसहरूको निगरानी कार्यलाई जारी राख्ने छ।
यो घटना प्यालेष्टिनीहरूका लागि एउटा ठुलो राहतको विषय बनेको छ। उनीहरूले इजरायली सुरक्षाकर्मीहरूको सामना गर्न नपरीकनै सिमाना पार गर्न पाएका छन्।
विगतमा आफ्नो यात्राको स्मरण गर्दै अक्सर यात्रा गरिरहने एकजना बृद्ध पुरूष तलालको भनाइमा इजरायली नियन्त्रण अन्तरगत रहँदा वारम्वार सीमा नाकाहरू बन्द गर्ने गरिएकोले प्यालेष्टिनीहरूले निकै लामो विलम्बको सामना गर्ने गरेका थिए।
तर हाल पनि सो नाकामा इजरायलीहरूको प्रभाव कायमै रहेको कुरा थाहपाएका केही मानिसहरू क्रुद्ध नै रहेका छन्।
इजरायलले नजिकैको आफ्नो भू-भागमा बसेर भिडियो मार्फत सीमा पार गर्नेहरूको निगरानी गर्न सक्छ र गाजामा प्रवेश गर्न लागेको कुनै मानिस देशको सुरक्षाका लागि खतरा ठानेमा आपत्ती जनाउन सक्छ।
इजरायलको त्यस्तो आपत्तीका बाबजुद पनि अमेरिकीहरूको मध्यस्थमा भएको एक सम्झौता अनुसार कसलाई आउन दिने र कसलाई जान दिने भन्ने कुराको अन्तिम निर्णय भने प्यालेष्टिनीहरूले नै गर्न पाउनेछन्।











